Monday, 23 November 2026
Suryodaya Online
७ मंसिर २०८३, सोमबार
विज्ञापन

संघीय संसद्का गतिविधि डिजिटल प्रणालीबाट निगरानी गर्ने अवधारणा तयार

Suryodaya Online TV

काठमाडौं । संघीय संसद्का गतिविधि डिजिटल प्रणालीबाट अभिलेख राख्ने, अनुगमन गर्ने र नागरिकलाई संसदीय कामकारबाहीबारे जानकारी दिने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को अवधारणा तयार गरिएको छ ।

संघीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखा प्रमुख विशाल सापकोटा नेतृत्वको सहजीकरण समितिले संसदीय गतिविधिलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन अवधारणापत्र तयार पारेको हो ।

अवधारणामा सांसदले संसद्मा उठाएका प्रश्न, तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन तथा सरकारी निकायले गरेका कामको विवरण डिजिटल प्लेटफर्मबाट हेर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

समितिले कात्तिक तेस्रो सातामै अवधारणापत्र संघीय संसद् सचिवालयलाई बुझाएको थियो । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत अवधारणापत्र उपलब्ध गराइएको सापकोटाले बताए ।

उनका अनुसार डिजिटल पार्लियामेन्टको अवधारणाले संसद्को विधायिकी कार्य, सरकारी कामको निगरानी तथा संस्थागत अभिलेख व्यवस्थापन सुधार गर्ने लक्ष्य राखेको छ । पूर्ण डिजिटल प्रणालीमा जान आवश्यक रणनीतिक योजना, मध्यकालीन तथा दीर्घकालीन योजना र कार्यान्वयनको मार्गचित्रसमेत तयार गरिएको छ ।

अवधारणाअनुसार सांसदहरूका लागि छुट्टै मोबाइल एप विकास गर्ने प्रस्ताव छ । एपमार्फत सांसदले आफ्नो व्यक्तिगत विवरण, बैठक तथा समितिका सूचना, कार्यसूची, आवश्यक कागजात र विधेयकसम्बन्धी विवरण हेर्न सक्नेछन् । सांसदको हाजिरी विद्युतीय प्रणालीबाट अभिलेख गरिने तथा आवश्यकताअनुसार डिजिटल निवेदन र बिदा अनुरोधको सुविधा पनि उपलब्ध गराउने प्रस्ताव छ ।

सांसदले संसद्मा कुन विषयमा र कुन समयमा बोल्न चाहेको हो भन्ने प्रक्रिया पनि मोबाइल एपमार्फत अघि बढाउन सक्नेछन् । प्रश्नोत्तर, ध्यानाकर्षण, प्रस्ताव तथा अन्य संसदीय प्रक्रियामा सहभागी हुने र आफूले उठाएका विषयको अवस्था थाहा पाउने सुविधा एपमा समेटिने अवधारणामा उल्लेख छ ।

विधेयकको दर्तादेखि पारित हुँदासम्मको प्रक्रिया डिजिटल अभिलेखमा राख्ने र अनुगमन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । विधेयक कुन चरणमा पुगेको छ, संशोधन के परे, कुन समितिमा पठाइयो, छलफल तथा निर्णयको अवस्था के छ भन्ने विवरण प्रणालीबाट हेर्न सकिनेछ ।

यसबाट विधेयक निर्माण प्रक्रियामा हुने ढिलासुस्ती र पारदर्शिताको कमीलाई सम्बोधन गर्न सकिने अपेक्षा गरिएको छ । विधेयकको प्रगति र कानुन निर्माण प्रक्रियाबारे नागरिकले समेत मोबाइल एपमार्फत जानकारी पाउने व्यवस्था प्रस्ताव गरिएको सापकोटाले बताए ।

संसद्मा सांसदले उठाएका प्रश्न, ध्यानाकर्षण, शून्य समय र विशेष समयमा राखेका विषय डिजिटल अभिलेखमा राखिनेछ । ती विषय कुन निकायमा पठाइयो, जवाफ प्राप्त भयो कि भएन र सम्बोधनको अवस्था के छ भन्ने विवरणसमेत एउटै प्रणालीमा देखिने प्रस्ताव छ ।

त्यस्तै, संसदीय विषयगत समितिले सरकार वा सम्बन्धित निकायलाई दिएका निर्देशन तथा सिफारिसको कार्यान्वयन अवस्था पनि डिजिटल माध्यमबाट अनुगमन गरिनेछ । समितिका बैठक, छलफल, निर्णय, निर्देशन, सिफारिस र प्राप्त कागजातलाई व्यवस्थित रूपमा अभिलेख राख्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

डिजिटल पार्लियामेन्ट अवधारणालाई चरणबद्ध रूपमा अघि बढाउने योजना छ । पहिलो चरणमा संघीय संसद् र संसद् सचिवालयका कामकारबाही डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तथा त्यसपछि सातवटै प्रदेशसभा र स्थानीय तहका गाउँसभा तथा नगरसभासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश तथा स्थानीय तहका सभाको कार्यप्रणाली, संस्थागत संरचना र प्रशासनिक व्यवस्थापन फरक हुने भएकाले सबै तहमा एउटै प्रणाली अनिवार्य गर्नेभन्दा आवश्यकता र अवस्थाअनुसार प्रणाली विकास तथा कार्यान्वयनमा सहजीकरण गर्ने प्रस्ताव छ ।

यसका लागि प्रदेश तथा स्थानीय तहमा प्रशासन र अभिलेख व्यवस्थापनमा संलग्न कर्मचारीको क्षमता विकास, प्राविधिक ज्ञान तथा सीप हस्तान्तरण र अनुभव आदानप्रदानलाई पनि अवधारणामा समेटिएको छ ।

डिजिटल प्रणाली सञ्चालनका लागि साइबर सुरक्षा, तथ्यांक संरक्षण, पहुँच नियन्त्रण, प्राविधिक जनशक्ति विकास तथा आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । पूर्ण रूपमा डिजिटल प्रणाली लागू गर्न नयाँ कानुनसमेत आवश्यक पर्ने अवधारणापत्रमा औंल्याइएको छ ।

प्रणाली निर्माण, सञ्चालन र व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउने तथा विकास साझेदारसँग सहयोग र साझेदारी गर्ने विषय पनि अवधारणामा समेटिएको छ । तर डिजिटल पार्लियामेन्ट कार्यान्वयनको विस्तृत समयसीमा, बजेट र परियोजनाको स्पष्ट खाका भने सार्वजनिक गरिएको छैन ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private