Monday, 23 November 2026
Suryodaya Online
७ मंसिर २०८३, सोमबार
विज्ञापन

बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना प्रहरी नियन्त्रणमा

Suryodaya Online TV

सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् ।

बरहथवा नगरपालिका–५ हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको मृत्यु भएपछि आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् ।

नौ महिनाकी गर्भवती सीमा तीन दिनदेखि बिरामी थिइन् । उनको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको थियो । शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको भन्दै आफन्तले अस्पतालमा आक्रोश व्यक्त गर्दै तोडफोड र आगजनी गरेका थिए ।

त्यसपछि थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

आगजनीबाट अस्पतालको इमर्जेन्सी कक्षमा क्षति पुगेको छ । अस्पतालका सूचना अधिकारी राजेश गुप्ताका अनुसार घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार बिहानसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा भने आधिकारिक पुष्टि भएको छैन ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private