Sunday, 22 November 2026
Suryodaya Online
६ मंसिर २०८३, आइतबार
विज्ञापन

अब मालपोतको काम स्थानीय तहमै, मोरङका पाँच पालिकालाई निर्देशन

Suryodaya Online TV

विराटनगर । मोरङका पाँच स्थानीय तहले अब आफ्नै कार्यालयबाट भूमि प्रशासन अर्थात् मालपोतसम्बन्धी सेवा सञ्चालन गर्ने भएका छन्। भूमि प्रशासन सेवा स्थानीय तहबाटै उपलब्ध गराउने प्रक्रिया अघि बढाउँदै सम्बन्धित निकायले तयारी थाल्न निर्देशन दिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार भूमि प्रशासन कार्यालय विराटनगरले विराटनगर महानगरपालिकासहित पाँच स्थानीय तहलाई सेवा सञ्चालनको तयारी गर्न पत्राचार गरेको हो।

सेवा सञ्चालनमा आएपछि जग्गाधनी पुर्जा वितरण, लिखत पारित, जग्गा रोक्का तथा फुकुवा र नामसारी दर्तालगायतका काम स्थानीय तहबाटै हुनेछन्। यसले मालपोत कार्यालयसम्म पुग्नुपर्ने सेवाग्राहीको बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

सेवा सञ्चालनका लागि विराटनगर महानगरपालिका, बुढीगंगा, जहदा, धनपालथान र कटहरी गाउँपालिकालाई तोकिएको समयसीमाभित्र आवश्यक पूर्वतयारी पूरा गर्न भनिएको छ। मन्त्रालयको पत्रअनुसार एक महिनाभित्र सेवा सञ्चालन गरिसक्नुपर्ने व्यवस्था छ।

मंसिर २ गते भएको अनलाइन बैठकको निर्णयका आधारमा भूमि प्रशासन कार्यालय विराटनगरले मंसिर ४ गते सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको थियो। पत्रमा सेवा सञ्चालनका लागि समन्वय र सहजीकरण गर्न कार्यालयका कर्मचारीलाई फोकल पर्सनसमेत तोकिएको उल्लेख छ।

विराटनगर महानगरपालिकाले यसअघि नै भू–उपयोग वर्गीकरण प्रतिवेदन तयार पारेको थियो। अब पाँचै स्थानीय तहमा आवश्यक प्रक्रिया पूरा भएपछि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुने बाटो खुल्नेछ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private