विराटनगर । विराटनगर महानगरपालिकाको नेतृत्व गर्ने आकांक्षासहित शिक्षाकर्मी तथा व्यवसायी टीकाराम पुरी चुनावी तयारीमा जुटेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने मनसाय बनाएका उनले विराटनगरलाई आधुनिक, व्यवस्थित र समृद्ध सहर बनाउने योजना आफूसँग रहेको दाबी गरेका छन् ।
औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि पुरीले महानगरको नेतृत्वमा पुगेर सहरको मुहार फेर्ने चाहना सार्वजनिक गरेका हुन् । ‘विराटनगरलाई आधुनिक सहरका रूपमा विकास गर्न मन छ,’ उनले भने, ‘दृढ इच्छाशक्ति र दीर्घकालीन सोचका साथ काम गर्ने हो भने यसलाई सुन्दर र समृद्ध महानगर बनाउन सकिन्छ ।’
‘हिमालय मातृभूमि फाउन्डेसन’का अध्यक्षसमेत रहेका पुरी पछिल्लो समय भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धिका विषयमा देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन् । अब शिक्षा, संगठन व्यवस्थापन र व्यवसायमा हासिल गरेको अनुभवलाई महानगरको नेतृत्वमा उपयोग गर्ने उनको चाहना छ ।
कुनै समय नेपालको दोस्रो ठूलो सहरका रूपमा परिचित विराटनगरले आफ्नो ऐतिहासिक पहिचान र सम्भावनाअनुसार विकासको गति लिन नसकेको पुरीको बुझाइ छ । विगतका नेतृत्वले योजनाबद्ध विकासलाई प्राथमिकता दिन नसकेको बताउँदै उनले अब महानगरको विकासलाई निश्चित लक्ष्य र समयसीमासहित अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
उनका अनुसार विराटनगरको स्वरूप बदल्न पाँच वर्षे स्पष्ट विकास योजना आवश्यक छ । पहिलो वर्षदेखि नै प्राथमिकता निर्धारण गर्ने, महानगरभित्र उपलब्ध स्रोत र सम्भावनाको पहिचान गर्ने तथा तिनको प्रभावकारी परिचालन गर्न सके विकासलाई गति दिन सकिन्छ ।
‘चुनाव जितेपछि पाँच वर्ष बितिहाल्छ भन्ने सोचले हुँदैन । लक्ष्य बनाएर काम गर्नुपर्छ । स्रोतको पहिचान र परिचालन गर्न सके असम्भव केही छैन,’ उनले भने ।
यद्यपि, पुरी कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने विषय अझै टुंगिएको छैन । कुनै पनि दलसँग यस विषयमा छलफल नभएको बताउँदै उनले उपयुक्त समयमा आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका छन् । यसअघि नेकपा एमालेनिकट रहेर कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका उनी पार्टीले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै केही समयअघि बाहिरिएका थिए ।
२०२३ वैशाख १ गते संखुवासभाको खाँदबारी–७ माल्टा खिप्रिङमा जन्मिएका पुरी हाल विराटनगर–५ का स्थायी बासिन्दा हुन् । एसएलसी उत्तीर्ण गरेपछि २०४२ सालमा उच्च शिक्षा अध्ययनका लागि विराटनगर आएका उनले अध्ययनसँगै शिक्षण पेसा सुरु गरेका थिए । शिक्षणबाट सुरु भएको उनको यात्रा पछि विद्यालय सञ्चालन र शैक्षिक संस्थाको व्यवस्थापनसम्म विस्तार भयो ।
हाल उनी एभरेष्ट सेकेन्डरी स्कुल र एभरेष्ट कलेज सञ्चालन गरिरहेका छन् । शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारका कारण यी संस्था निजी शैक्षिक क्षेत्रमा स्थापित छन् । विद्यालयको प्रिन्सिपलका रूपमा समेत काम गरेका पुरीले शिक्षा क्षेत्रको व्यवस्थापनमा लामो अनुभव हासिल गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मा उनको नेतृत्व यात्रा पनि लामो छ । २०५४ सालमा प्याब्सन मोरङको जिल्ला सदस्य बनेका उनी दुई कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्ष भए । त्यसपछि केन्द्रीय उपाध्यक्षमा दुई कार्यकाल, वरिष्ठ उपाध्यक्षमा एक कार्यकाल बिताउँदै प्याब्सनको केन्द्रीय अध्यक्ष बने ।
प्याब्सनको केन्द्रीय अध्यक्ष बन्ने उपत्यकाबाहिरका पहिलो व्यक्ति रहेका पुरीले आफ्नो कार्यकालमा निजी विद्यालयको संस्थागत व्यवस्थापन, नीतिगत पैरवी र पूर्वाधार विकासमा काम गरेको निजी विद्यालय सञ्चालकहरू बताउँछन् । काठमाडौंको तीनकुनेमा प्याब्सनका लागि तीनतले भवन खरिद, निजी विद्यालयमैत्री कानुन निर्माणको पहल र कोभिड महामारीका बेला खेलेको भूमिकालाई उनको कार्यकालका उपलब्धिका रूपमा लिने गरिएको छ ।
शिक्षाबाहेक कृषि र उद्योग क्षेत्रमा पनि पुरीको सक्रियता छ । उनले कृषि फार्म सञ्चालन गर्दै आएका छन् भने मोरङमै विद्युतीय गाडी उत्पादन गर्ने उद्योग स्थापनाको तयारी गरिरहेका छन् । यसका लागि चिनियाँ कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको उनले बताएका छन् ।
युवालाई रोजगारीसँगै उत्पादनमूलक क्षेत्रमा जोड्नुपर्ने उनको जोड छ । उमेर पुगेका प्रत्येक नेपालीले रोजगारी वा उत्पादनको अवसर पाउनुपर्ने बताउँदै उनले त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले जिम्मेवारी लिनुपर्ने धारणा राख्दै आएका छन् ।
शिक्षा, संगठन र व्यवसायमा लामो अनुभव हासिल गरेका पुरीको अबको राजनीतिक गन्तव्य भने स्पष्ट भइसकेको छैन । मेयर बन्ने आकांक्षा सार्वजनिक गरे पनि उनले उम्मेदवारीको औपचारिक घोषणा, राजनीतिक दलको टुंगो र महानगर विकासका विस्तृत योजना सार्वजनिक गर्न बाँकी छ । त्यसैले विराटनगरको नेतृत्वमा पुग्ने उनको चाहना चुनावी प्रतिस्पर्धामा कसरी रूपान्तरण हुन्छ भन्ने चासोको विषय बनेको छ ।