बिर्तामोड । पूर्वी नेपालको सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको इटहरीको पुरानो सांगीतिक समूह नेक्सस ब्यान्ड नयाँ एल्बम ‘वारीपारी’ सहित पुनः सांगीतिक यात्रामा फर्किएको छ।
दुई दशकभन्दा लामो सांगीतिक यात्रा पार गरेको ब्यान्डले आठ गीत समेटिएको नयाँ एल्बम सार्वजनिक गर्दै दर्शकमाझ पुनरागमन गरेको हो। शुक्रबार इटहरीमा एल्बम सार्वजनिकसँगै सांगीतिक प्रस्तुति दिएको ब्यान्डले आज झापाको बिर्तामोडमा पनि नयाँ तथा पुराना सिर्जनामार्फत दर्शकलाई मनोरञ्जन दिने जनाएको छ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ब्यान्डका प्रमुख भोकलिस्ट पवन लिम्बूले लामो समयपछि नयाँ एल्बमसहित दर्शकमाझ आउन पाउँदा खुसी व्यक्त गर्नुभयो। पुरानो सांगीतिक अनुभव र नयाँ पुस्ताको रुचिलाई समेट्दै फरक ऊर्जा र शैलीका साथ ब्यान्ड पुनः सक्रिय भएको उहाँले बताउनुभयो।
एल्बम ‘वारीपारी’ मा प्रेम, प्रकृति, मानवीय भावना, सामाजिक चेतना र परिवर्तनका विषय समेटिएका आठ गीत छन्। युवापुस्तालाई कुलतबाट टाढा रहन प्रेरित गर्ने, वातावरण संरक्षणमा नागरिकको भूमिका उजागर गर्ने तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सिर्जनालाई एल्बममा प्राथमिकता दिइएको ब्यान्डले जनाएको छ।
नेपाली मौलिकता र पश्चिमा संगीतको फ्युजनमार्फत रक तथा आधुनिक संगीतको फरक स्वाद प्रस्तुत गर्ने उद्देश्यले एल्बम तयार गरिएको ब्यान्डका सदस्यहरूले बताएका छन्। युवापुस्तामाझ रक संगीतप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा पुरानो सांगीतिक विरासतलाई नयाँ शैली र प्रविधिसँग जोड्ने प्रयास गरिएको उनीहरूको भनाइ छ।
सन् २००४ मा स्थापना भएको नेक्सस ब्यान्डले यसअघि ‘विश्वास’ लगायतका गीतमार्फत सांगीतिक पहिचान स्थापित गरेको थियो। व्यक्तिगत तथा व्यावसायिक व्यस्तताका कारण ब्यान्डका सदस्यहरू विभिन्न देशमा रहे पनि संगीतप्रतिको साझा लगावले उनीहरूलाई पुनः एकै ठाउँमा जोडेको हो।
ब्यान्डमा पवन लिम्बू प्रमुख भोकलिस्ट, मनोज राई लिड गिटार, सुजन लिम्बू गिटार, नवीन श्रेष्ठ ड्रम तथा नवीन न्यौपाने बेस गिटारमा रहनुभएको छ।
नयाँ एल्बममार्फत पुराना श्रोतासँगको सम्बन्ध पुनः स्थापित गर्दै नयाँ पुस्तालाई नेपाली मौलिकता र आधुनिक संगीतको सम्मिश्रणमा आधारित फरक सांगीतिक अनुभव प्रदान गर्ने ब्यान्डको अपेक्षा छ।
ब्यान्डले शनिबार मंसिर ६ गते बिर्तामोडस्थित मोक्षमा विशेष लाइभ सांगीतिक कार्यक्रम आयोजना गरेको छ।