काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनुभएको छ ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताउनुभएको हो । उहाँले नेपालको सबै घरमा अब फोरजी चालु हुनुपर्ने भन्दै त्यसका लागि सरकारले व्यवस्थापन गरिरहेको बताउनु भयो ।
उहाँले कतै नेटवर्क टिप्ने र कतै नटिप्ने गुणस्तरहिन नेटवर्क रहेको भन्दै सबैतिर फोरजी नेटवर्क टिप्ने बनाउन लागिपरेको बताउनु भयो । सकेसम्म यही वर्षभित्र फोरजी सबैतिर चल्ने वातावरण बनाउने उहाँको भनाइ छ ।
सबैको घरमा रेडियो बजोस्, सबैको घरमा टेलिभिजन हेर्न पाइयोस् र सबैको घरमा नेटवर्क टिपोस् भन्नेकुरा नै आजको आधुनिक जमानाको जनताको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले देश विकास गर्न योग्य व्यक्तिलाई नागरिकले चुन्नुपर्ने बताउनु भयो । सक्षम व्यक्तिले देशको नेतृत्व नलिएसम्म विकास हुन नसक्ने बताउनु भयो ।