चार लेन नमुना सडक निर्माण कम्पनीहरुको चरम लापरबाहीका कारण भत्किदै


१० श्रावण २०७६, शुक्रबार १७:५२ मा प्रकाशित

चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिकाका बजार क्षेत्रहरुमा निर्माण भएको चार लेन नमुना सडक निर्माण कम्पनीहरुको चरम लापरबाहीका कारण भत्किदै गएको छ ।

गत, बर्ष गरेको पीच भत्केर टालेको भएपनि सोही स्थानमा यतिबेला ठुला ठुला खाडल देखिन थालेको छ । सडकको निर्माण नसकिँदै सडकको बिचमा खाल्डा बन्न थालेपछि यहाँ दैनिक सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ । यसरी विभिन्न ठाँउहरुमा ठुला ठुला खाडलहरु बन्दा सवारी दुर्घटनाका कारण यात्रा गर्न समेत यात्रुहरुलाई जोखिम हुँदै गएको छ ।

उक्त सडकमा दैनिक डिभाईडर प्रबेश गर्ने टाँडी बजार छेउ, टाँडी चोक, सौराहा चोक र बकुल्हर चोकमा बढी मात्रामा सडक दुर्घटना हुने गरेको पाइएको छ । टाँडी चोकदेखि नगरपालिकाको गेटसम्म आईपुग्दा एउटै बाईक ठुला खाल्डामा परेर विभिन्न स्थानमा पटक पटक लड्ने गरेको स्थानीय बताउँछन् ।

यता, रत्ननगर नगरपालिका अन्तर्गत मातहतमा रहेको सडकहरुको दुराअवस्था छ । तर, नगरपालिकाले भने सडक निर्माणमा चरम लापरबाही गर्ने निर्माण कम्पनीहरुलाई कार्वाहीको दायरामा ल्याउनुको सट्टा बजारलाई हरियाली बनाउन राजमार्गमा रहेको डिभाइडरहरुमा वृक्षारोपण गरेको छ ।

तराई भूपरिधी कार्यक्रम(ताल)को सहयोगमा रत्ननगर नगरपालिकाले डिभाईडरमा वृक्षारोपण गरेको हो । गत बर्ष पनि सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सन निर्माण कम्पनीले टाँडीदेखि बकुल्हर सम्म को डिभाईडरमा बृक्षारोपण गरेको भएपनि सो बिरुवा २ महिना नपुग्दै मोरेका थिए । तर, नगरपालिकाले भत्केको सडकलाई निर्माण गर्नेतर्फ भने खासै ध्यान देखाएको छैनन् । नगरपालिकाले सस्तो लोकप्रियता कमाउन बृक्षरोपण गरेको स्थानीय बासिन्दा बताउँछन् ।

यता, रत्ननगर नगरपालिकाले भने लामो सयमदेखि सडक भत्केर यात्रा गर्न असहज भएको महशुस आफू हरुले पनि गरिरहेको भए पनि सडक बिभाग अन्तर्गत पर्ने हुँदा आफुहरुले मर्मतको लागी केही गर्न नसक्ने जनाएको छ । गत बर्ष पनि बकुल्हर चोकमा सडक भत्किदा नगरपालिकाले मर्मत गर्न खोज्दा सडक विभागको हस्तक्षपपछि नगरपालिका पछाडि हट्नु परेको नगरपालिकाको भनाई छ । श्रेष्ठ कन्ट्रक्सन प्राली हेटौंडाले निर्माण गरेको सडकका विषयमा पटकपटक जानकारी गराउदा समेत आफूहरुको कुनै कुरा सुनुवाइ नभएको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । उता, सडक बिभागले पटक पटक सडक मर्मत गर्न आग्रह गरेको भएपनि बिभागको आग्रहलाई निर्माण कम्पनीले अटेर गरेको सडक विभाग चितवनका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनस्थित रत्ननगर नगरपालिकाको चार लेनको नमूना सडकको विवाद अझै यथावत छ । निर्माण कम्पनीले आँफुले काम सकेको दाबी गर्दै आएको भएपनि सडक विभागबाट डेढ करोड भन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको छ । सडकको दुबै तर्फको लेनहरु सोही कम्पनीले निर्माण गर्नु पर्ने भएपनि लागतको आधारमा सडकको एक तर्फकोे सडक बनाउन नयाँ ठेक्का निकाल्ने सडक विभागले बताएको छ ।

विभिन्न ठाँउमा सडक बिग्रेको थाहा भएपनि श्रेष्ठ कन्स्ट्रक्सनले भने बाँकी भुक्तानी पछि मात्रै आफुले काम गर्ने बताएको छ । यता सडक विभागले भने काम सम्पन्न भएपछि र बिग्रेको सडक मर्मत पछि मात्रै बाँकी रहेको भुक्तानी दिन सक्ने बताउदै आएको छ । सडक निर्माणको लागि रु १९ करोड ७० लाखमा २०७२ सालबाट ठेक्का सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here