काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्नेगरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वसांसद मञ्चद्वारा आयाजि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना र असान्दर्भिक कानूनको संशोधन वा खारेजी तथा प्रविधिमैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताउनु भयो ।
अर्यालले देश निर्माणका लागि तीन पुस्ताको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । कानून निर्माण प्रक्रियामा व्यवहारिकताको अभाव रहेको भन्दै उहाँले वर्तमान सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी व्यवस्थाको आलोचना गर्नुभयो ।
उहाँले लाइसेन्स परीक्षाको प्रक्रियामा रहेको ९० दिनको समयसीमा र कतिपय अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति पनि आपत्ति जनाउनु भयो । लिखित परीक्षामा अनुत्तिर्ण हुनेले तीन महिनासम्म कुर्नुपर्ने नियम अव्यवहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत बाधा पु¥याएको उहाँको तर्क छ ।
कानून निर्माण गर्दा प्रयोगकर्ता र सरोकारवालासँग पर्याप्त छलफल नहुने गरेको भन्दै अर्यालले असन्तुष्टि व्यक्त गर्नुभयो । मुलुकको समृद्धिका लागि राज्यका तीनै अङ्ग— कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको ‘स्पिरिट’ र ‘स्पिड’ मिल्नुपर्ने अर्यालको धारणा छ ।
उहाँले स्रोत र साधनभन्दा पनि सफा ‘नियत’ भए मात्र नीति–नियमहरूले सार्थक परिणाम दिने उल्लेख गर्नुभयो । आगामी दिनमा युवा सांसदहरूले सरकारलाई घच्घच्याउँदै जनजीविकासँग जोडिएका विषयमा प्रभावकारी कानून निर्माणका लागि पहल गर्ने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।






