मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यकः विद्या भण्डारी


९ जेष्ठ २०८३, शनिबार १६:४० मा प्रकाशित

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरि प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।


शनिवार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उहाँले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताउनुभएको हो । उहाँले भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताउनु भयो ।

छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । उहाँकाअनुसार मदन भण्डारीले स्थापित गर्नुभएको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पती हुन् ।

उहाँले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो । लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताजस्ता विषय अहिले पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको बताउँदै उहाँले मदन भण्डारीले लिएका बाटोमा हिड्न आग्रह गर्नुभयो ।  

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुलाई सूचना तथा सञ्चार प्रविधिको तिब्र विकास भएकोले आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विज्ञान र प्रविधिका नयाँ उपलब्धिहरूलाई सकारात्मक तथा रचनात्मक ढंगले आत्मसात गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख दायित्व भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here