काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले जेन–जी आन्दोदनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताउनुभएको छ ।
शनिवार विराटनगरको कोईरालानिवास पुग्नुभएका थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताउनुभएको हो । भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उहाँले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताउनु भयो ।
तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उहाँको आरोप छ । भदौ २४ गतेपनि थुप्रै युवा र प्रहरीहरू मारिएको बताउँदै उहाँले त्यसको सत्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको बताउनु भयो ।
उहाँले नेपाली काँग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप लगाउनु भयो । उहाँका अनुसार सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो ।
तर हाल यसलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउँदै उहाँले यो स्वीकार्य नभएको बताउनुभयो । उहाँले भदौ २४ को तत्काल न्यायिक छानबिन आयोग गठन गर्न र हिंसा, आतंक तथा उपद्रोमा संलग्न दोषीहरूलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।
उहाँले संविधान अनुसार सरकार चल्नुपर्ने बताउनुभयो । उहाँले प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेकोले सरकारले पनि प्रतिपक्षीको आवाजलाई सुन्नुपर्ने बताउनुभयो । उहाँका अनुसार राष्ट्रियसभामा प्रतिपक्षी दलहरुले चाहेको भए सरकारको निति तथा कार्यक्रम अस्वीकृत हुने थियो । तर काँग्रेसले सरकारको निति तथा कार्यक्रममा विमती हुँदाहुँदै पनि पारित गरेर सहयोग गरेको बताउनु भयो ।






