काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमासम्बन्धी सेवा प्रवाह, दाबी मूल्यांकन र अनुगमनलाई थप व्यवस्थित बनाउन बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ ।
आधुनिक प्रविधि र नयाँ प्रणाली संरचनामा आधारित अद्यावधिक आईएमआईएसले स्वास्थ्य बीमासम्बन्धी कामलाई सुरक्षित, छिटो र प्रभावकारी बनाउने बोर्डले जनाएको छ ।
नयाँ प्रणालीबाट स्वास्थ्य सेवा प्रदायकले पेश गर्ने उपचारसम्बन्धी दाबीको रुजु तथा मूल्यांकन सहज हुनेछ । राष्ट्रिय परिचयपत्र प्रणालीसँग अन्तरआबद्धता कायम गर्नुका साथै तथ्यांकको वैधता र गुणस्तर सुधारमा समेत प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
दाबीमा देखिने त्रुटि तथा असामान्य विवरण पत्ता लगाउन प्रणालीमै फ्ल्यागिङको व्यवस्था गरिएको छ । यसले बीमितको अभिलेख खोजी तथा पहिचान र स्वास्थ्य सेवा प्रदायकको अवस्थाबारे अनुगमन गर्न सहज बनाउने बोर्डको विश्वास छ ।
प्रणाली स्तरोन्नतिसँगै सूचनाको सुरक्षा, गति, कार्यसम्पादन र विश्वसनीयतामा सुधार आउनेछ । साथै, भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रविधि विकास तथा प्रयोगका लागि समेत नयाँ प्रणालीले आधार तयार गर्ने बोर्डले जनाएको छ ।