काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ ।
बुधवार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले वीरगञ्ज महानगरपालिकाले शुरु गरेको अभियान शुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरुमा पनि किशोरीहरुका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताउनु भयो । किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताउनु भयो ।
मन्त्री यादवले यस्ता तालिमहरुले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रुपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताउनु भयो ।
महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।