काठमाडौं- काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले उहाँमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
अधिकारीमाथि लिखत र मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले नेपालटिभीअनलाइनलाई जानकारी दिनु भयो ।
विराटनगरबाट पक्राउ परेका उहाँलाई लगत्तै काठमाडौँ ल्याइएको थियो। काठमाडौँ ल्याएसँगै उहाँलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौँ लगिएको थियो ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले अधिकारीलाई आजै काठमाडौँ ल्याएको हो ।
गत कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ ।
यसअघि नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको छ ।