निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौंः अर्थमन्त्री पौडेल


१६ आश्विन २०८१, बुधबार १६:५४ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताउनुभएको छ ।


बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरुप नै निरन्तर रुपमा भुक्तानी भइरहेको बताउनु भयो ।

उहाँले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको दाबी गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गर्नुभयो । उहाँले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिने बताउनु भयो ।

उहाँले निर्माण व्यवसायीहरुले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैँअघि नै गर्ने प्रयासमा रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरुको विषयमा व्यवसायीहरुले चिन्ता गर्नु नपर्ने बताउनु भयो ।

उहाँले संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरु रहेको बताउनु भयो । उहाँले वैकल्पिक स्रोतसहित सरकारले निर्णय गरेको हुनाले आयोजनाहरु जारी रहने बताउनु भयो । उहाँले भुक्तानी गर्नुपर्ने दायित्व धेरै भएपनि बजेट कम भएको विषयमा सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । 


उहाँले विपद्को कारण निर्धारित समयमा आयोजनाहरु सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर देखिएकाले वर्षाको कारण धेरै ठूलो क्षति भएको  बताउनु भयो । उहाँले अब प्राकृतिक विपद्को पूर्वअनुमान गरेर त्यसलाई सामना गर्नसक्ने संरचना निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here