झापामा बाढीले तीनवटा पुल र एउटा कल्भर्टमा क्षति


१२ आश्विन २०८१, शनिबार ०९:४१ मा प्रकाशित

झापा : अविरल वर्षापछि खोलामा आएको बाढीले झापामा तीन वटा पुलमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले अर्जुनधाराको बिरिङ नदीको पुल, झापा गाउँपालिकाको बिरिङ नदीको पुल र बाह्रदशीको अदुवा खोलाको काठे पुलमा क्षति पुर्‍याएको हो । 

शुक्रबार साँझ साढे ७ बजे वर्षाको कारणले झापा गाउँपालिका ५ पान्थापाडास्थिति बिरिङ नदीमा आएको बाढीले हुलाकी राजमार्ग जोड्ने पक्की पुलमा क्षति पुर्‍याएको छ । बाढीले पुलको पश्चिम साइटको १० मिटर जति भाग कटान गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

हाल हुलाकी राजमार्ग अवरुद्ध बनेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । ११ वर्षपछि बनेको बिरिङ पुलमा बाढीले क्षति पुर्‍याएपछि फेरि त्यहाँका स्थानीय निराश बनेको छ । उनीहरूले छिटो भन्दा छिटो पुल सुचारु गराउन माग गरेका छन् । त्यस्तै अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्ण रुपमा क्षतिग्रस्त भएकाले गएराति देखि नै आवागमन बन्द गरिएको छ । यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको हो । पुलको दक्षिण साइडको अन्दाजी १० मिटर पुल बगाएको छ ।  

बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा–७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका सवारीसाधनहरू सञ्चालन भइरहेको डीएसपी चन्दले बताए । त्यसैगरी शुक्रबार राति ८ बजेर २० मिनेटको समयमा बाह्रदशी गाउँपालिका ३ कोनाबारीस्थित पूर्व पश्चिम जोड्ने अदुवा खोलामा रहेको काठको पुल क्षति पुर्‍याएको छ । 

खोलामा बढेको बहावका कारण काठको पुलको बीच भाग भाँचिएकोले आवागमन बन्द गरिएको छ । अहिले त्यहाँका स्थानीयहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । यता मेची राजमार्ग अन्तरगत चाराआली केचना सडक खण्डमा पर्ने कल्भर्टमा क्षति पुगेको छ । 

खोलामा आएको बाढीले भद्रपुर नगरपालिका १ र कचनकवल गाउँपालिका ६ जोड्ने राजमार्ग रहेको कल्भर्टको दुवैतर्फ सामान्य क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here