दुर्गा प्रसाईका समर्थकद्वारा २ वटा ट्रकमा आगजनी, चालक घाइते


७ आश्विन २०८१, सोमबार ०९:५६ मा प्रकाशित

झापा । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले दुईवटा भारतीय ट्रकमा आगजनी गरी क्षति पुर्याएका छन् ।


सोमबार सबेरै कन्काई –८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको UP57AT4493 नम्बरको भारतीय मालबाहक ट्रकमा प्रसाईका समर्थकहरुले आगजनी गरेका हुन् । प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले ट्रकमा आगजनी गरी फरार भएका थिए ।

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले राति ११ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको छ ।


त्यस्तै पछाडिको भागमा समेत सामान्य क्षति पुगेको छ । साथै, ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडी बस्ने बर्ष ४० का कुमार महतो दाहिना हातको पाखुरामा जलेर घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।


त्यस्तै प्रसाईका समर्थकहरुले बिहान २.४५ बजे बिर्तामोड ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा WB73E3056 नं अर्को भारतीय ट्रकमा आगजनी गरेका छन् । सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई ५–६ जनाको समूहले आगजनी गरेका हुन् ।

ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको छ भने पछाडिको भागमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

साथै, आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० का पोदा रायको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएकोमा उनलाई बीएण्डसी अस्पतालमा लगेर उपचार गरिएको थियो । चालक राय भारतमै उपचार गर्ने भन्दै भारततर्फ गएको बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here