धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार


७ आश्विन २०८१, सोमबार १०:२८ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।


जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज विहान करिव ३ बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता अरञ्जन अवाले हिरासतबाट ८ जना फरार भएको पुष्टि गर्नुभयो । सो मध्ये एक जना जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले जानकारी दिनुभयो ।

आज (सोमवार) बिहान करिव सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना फरार भएका हुन् । फरार मध्येहरुमा ५ जना लागुऔषध मुद्दाका अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।

उनीहरुमध्ये अभद्र व्यवहारको मुद्दाका महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ५ बस्ने श्याम झा भने जनकचोकबाट पक्राउ परेका छन् । अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् । यस्तै, सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन् । थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए । थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here