सिलीगुढी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाको जग्गा पुनः नापजाँच


५ आश्विन २०८१, शनिबार १९:२२ मा प्रकाशित

झापा । झापाको चारआलीमा निर्माण हुन लागेको सिलीगुढी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाको जग्गा पूनः नापजाँच कार्य सुरु गरिएको छ ।
नेपाल आयल निगम लिमिटेडको मेचीनगर–१३ स्थित जग्गामा पुरानो धनीले हकदाबी गर्दै दायर गरेको मुद्दामा जिल्ला अदालत, झापाले पुनः नापजाँच गर्न आदेश दिएपछि नापजाँचको कार्य पुनः सुरु गरिएको हो ।

आयल निगमको जग्गामा स्थानीय जग्गाधनी छत्रबहादुर कार्की र उनकी बहिनी रिताले हकदाबी गरेका थिए । उनीहरुको अवरोधले निगमले परियोजना अघि बढाउन सकेको थिएन । जिल्ला अदालत झापाले कित्ता नम्बर १४० को एक बिघा १० कट्ठा र कित्ता नम्बर १२६६ मा पर्ने १९ कट्ठामध्ये ७ कट्ठा जमिन र निगम स्वामित्वमा रहेको थप २० वटा कित्तामा रहेको सबै जग्गाको पुनः नापजाँच गन आदेश दिएको थियो । अदालतको आदेशसँगै परियोजनाको जग्गा छुट्याएर टुंग्याउने कार्य सम्पन्न गर्न लागिएको हो ।


उक्त जग्गामा भारतको सिलगुढीदेखि ५० किलोमिटर लामो पाइपलाइन बिछ्याएर ल्याउने र ४५ हजार किलोलिटरभन्दा बढी क्षमताको भण्डारण गृह बनाउने निगमको योजना छ । भारतीय अनुदानमा बन्ने यस परियोजनाको आगामी एक महिनाभित्र इन्डियन आयल कर्पोरेससँग सम्झौता हुन लागेकाले जग्गा विवाद छिटो टुंग्याउनुपर्ने बाध्यता छ । गत फागुनमा आयल निगमले नापी कार्यालय, झापाको सहयोगमा सम्पूर्ण जग्गाको नापजाँच गरी आफ्नो स्वामित्वको २३ बिघा ३ कट्ठा १३ धुर जग्गामा तारजाली गरेको थियो । निगमले तारजाली गरेको जग्गाभित्र स्थानीय छत्रबहादुरले १ बिघा १० कट्ठा र रिताले ७ कट्ठा आफ्नो निजी जग्गा परेको भन्दै अदालतमा रिट दायर गरेका हुन् ।

रिट दायर भएपछि आयल निगमले परियोजनाको काम अगाडी बढाउन नसकेको निगमका उपनिर्देशक प्रदिपकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा विवाद सकिने चरणमा रहेकाले अबको केही महिनाभित्र परियोजनाको निर्माणकार्य सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here