विपीको योगदान नयाँ पुस्ताले भुल्न हुँदैनः वरिष्ठ पत्रकार कोईराला


२३ भाद्र २०८१, आईतवार १५:३५ मा प्रकाशित


काठमाडौं । वरिष्ठ पत्रकार कमल कोईरालाले विपी कोईरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गर्नुभएको छ ।


१११ औं विपी जयन्तिको अवसर पारेर नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा विपी’ विषयक प्रवचन कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । तत्कालीन अवस्थामा शारदा नामक साहित्यिक पत्रिकामा विपीले साहित्यिक पत्रकारको रुपमा लेख, रचनाहरु प्रकाशित गर्ने गरेको वरिष्ठ पत्रकार कोईरालाले स्मरण गराउनु भयो ।

उहाँले विपीले नेपालको राजनीतिक, साहित्यिक क्षेत्रमा पु¥याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने धारणा पनि राख्नु भयो । वरिष्ठ पत्रकार कोईरालाले विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जाने कुरामा पनि भने गल्ती गरेको बताउनु भयो । 


अर्को वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले विपीले सबै पत्रकारहरुलाई सम्मान गर्ने गरेको बताउनु भयो । उहाँले विपीले लोकतन्त्रलाई स्थापित गराउनका लागि एउटा मुखपत्रको रुपमा पत्रिका संचालन गर्ने सोच राखे पनि त्यो अधुरो रहेको बताउनु भयो । 


वरिष्ठ पत्रकार किशोर नेपालले विपी कोईरालाले मुलुकका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न नयाँ पुस्ताका पत्रकारहरुलाइ पनि आग्रह गर्नुभयो । उहाँले नयाँ पुस्ताका पत्रकारहरुले नेपाली भाषाको दोहन हुन नदिने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । वरिष्ठ पत्रकार नेपालले आफैप्रति केन्द्रित नेपाली समाजलाई देश र जनताको पक्षमा लैजाने काममा पनि पत्रकारहरुले विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here