तीजको अवसरमा सुगम महिला नौमती बाजा सांस्कृतिक समूहद्वारा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान


१४ भाद्र २०८१, शुक्रबार २१:०० मा प्रकाशित

झापा । सुगम महिला नौमती बाजा सांस्कृतिक समूहले शुक्रबार वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। सम्मान कार्यक्रमका साथ उनीहरूलाई मिष्ठान्न भोजन गराएर कार्यक्रम सम्पन्न गरेको हो ।

नेपालीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर सुगम महिला नौमती बाजा सांस्कृतिक समूहले बिर्तामोड वडा नं ४ मा रहेको परोपकार वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई मिठो खानेकुरा खुवाउनुका साथै सम्मान समेत गरेको हो ।

दिदीबहिनीहरूले सांस्कृतिक नृत्यमा वृद्ध वुद्धाहरुलाई सहभागी गराएका रमाइलो गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष कुसुम पौडेलले देउता खोज्न अन्त जानु नपर्ने र बुढा भएका बुबा आमा नै भगवान हुन भन्ने कुरा प्रस्ट पार्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकहरुलाई हेला गर्दा कहिले पनि मुक्तिको बाटो नमिल्ने कुरा व्यक्त गर्नुभयो । सुगम शान्ति महिला सांस्कृतिक बाजा समूहले विभिन्न समयमा उल्लेखनीय कामहरु गर्दै आएको छ ।

यस संस्थाले गरिब तथा असाहाय बालबालिकाहरुको लागि न्यानो कपडा वितरण तथा दृष्टिविहीनहरुको लागि निशुल्क आँखा शिविर सञ्चालन गरेर उपचारसमेत गराउँदै आएको छ ।

कुसुम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विर्तामाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुभास भट्टराई, महिला विकास अध्यक्ष विमला बोहरा, बिर्तामोड सहकारीका अध्यक्ष सरोज उप्रेती, भजन किर्तनका अध्यक्ष लक्ष्मी कटेललगायतको उपस्थिति रहेको थियो ।

सुगम महिला नौमती बाजा सांस्कृतिक समूहका सल्लाहकार गोपाल लकान्द्रीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । चन्द्रकला भट्टराई रिजालले स्वागत गर्नुभएको कार्यक्रम संस्थाकी सचिव सुन्दरा चापागाईले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here