संसदको पुस्तकालयबारे सांसदहरु स्वयं अनविज्ञ


१४ भाद्र २०८१, शुक्रबार १७:५७ मा प्रकाशित

काठमाडौं । सांसदहरु स्वयंले संसद सचिवालयको पुस्तकालयबारे अनविज्ञता प्रकट गरेका छन् । शुक्रवार संघीय संसद सचिवालयको पुस्तकालय शाखाले पुस्तकालय दिवसको सन्दर्भ पारेर सिंहदरबारमा आयोजना गरेको ‘संसद पुस्तकालयः प्रयोग र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, एमालेकी सांसद शान्ति चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीलगायतका सांसदहरुले संसद सचिवालयको पुस्तकालयमा पुस्तकको व्यवस्थापन समेत राम्रोसँग नगरेको गुनासो समेत गरेका छन् ।

उपसभामुख रानाले सो पुस्तकालयमा जथाभावी पुस्तक फालिएको अवस्थामा भेटिएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन सचेत गराउनु भयो । उहाँले पुस्तकालय संसद सचिवालयमा छ भने पछि सांसदहरुले जाने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । 

एमालेकी सांसद चौधरीले आफूलाई संसद सचिवालयमा पुस्तकालय छ भन्ने थाहा नभएको बताउनु भयो । उहाँले पछिल्लो घटनाक्रमबारे अध्ययन गर्ने काम फेसबुक लगायतका साामाजिक सञ्जालबाटै हुने गरेकाले पनि पुस्तकालयबारे चासो दिन अवस्था नरहेको पनि बताउनु भयो ।

सांसद चौधरीले सांसदहरुको भुमिका प्रभावकारी हुने खालको सामग्रीहरु सो पुस्तकालयमा राख्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । सो पुस्तकालयमा आफू एक पटक पुगेको र खोजेको पुस्तक नपाएपछि फेरि दोहो¥याएर नगएको राप्रपाकी सांसद रोशन कार्कीको स्पष्टिकरण थियो ।

उहाँले पछिल्लो सन्दर्भ सामग्रीहरु पनि सो पुस्तकालयमा व्यवस्था गर्न संघीय संसद सचिवालयको ध्यानाकर्षण गराउनु भयो । सांसदहरुले सो पुस्तकालयको अध्ययन सामग्रीको लागि पूर्व सांसदहरुको अनुभव पनि उपयोगी हुने धारणा पनि राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here