२२ अर्ब विद्युत वक्यौता रकम नउठाउनेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्छः सांसद बाँस्कोटा


१३ भाद्र २०८१, बिहीबार १६:५६ मा प्रकाशित

काठमाडौं । नेकपा(एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।


बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम २२ अर्ब रुपैयाँ भएको भन्दै सबै रकम उठाउनुपर्ने बताउनुभएको हो । उहाँले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताउनु भयो ।

उहाँले लेखा समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने हो भने शक्तिशाली संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनु भयो । उहाँले प्राधिकरणको नेतृत्वमा ७ वर्षदेखि एउटै व्यक्ति भएको भन्दै प्राधिकरणको अन्य कुराहरु पनि हेर्नुपर्ने बताउनु भयो ।

सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा भएको बताउनु भयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि आफूलाई खोज्दै नआउन भनेको भन्दै दाहाललाई खोज्न कोही नआउने बताउनु भयो । उहाँले दाहाललाई कोही खोज्न आउने भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here