राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र कभर्डहल निर्माण प्रक्रिया अघि बढिसक्यो– राखेप सदस्यसचिव घिसिङ


१३ भाद्र २०८१, बिहीबार १४:२५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेसनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।  


बिहीवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा काभा महिला भलिबल लिगमा रजत पदक विजेतालाई सम्मान गर्न आयोजित कार्यक्रममा राखेप सदस्यसचिव घिसिङ दीर्घकालीन रूपमा हुने कभर्डहल र नेसल ट्रेनिङ सेन्टर स्थापानका लागि प्रक्रिया अगाडि बढेको बताउनुभएको हो ।

उहाँले नेसनल ट्रेनिङ सेन्टरका लागि यसै वर्ष बजेट विनियोजना भइसकेको र छिट्टै निर्माण कार्य आरम्भ हुने विश्वास व्यक्त गर्नुभयो । सातादोबाटोमा पनि फिटनेस सेन्टर बनाउने कार्यका लागि खरिद प्रक्रिया पनि अगाडि बढेको राखेप सदस्यसचिव घिसिङको भनाइ छ । उहाँले खेलकुदलाई विज्ञानसँग जोडेर स्पोर्ट्स साइन्स ल्याबको कार्ययोजना अघि बढाइएको र यसको एकीकृत कार्ययोजनाको बीचबाट अर्को पटक काभामा महिला भलिबलमा च्याम्पियन बन्ने लक्ष्य राख्ने धारणा राख्नुभयो ।

राखेप सदस्यसचिव घिसिङ अब खेलाडीले प्राप्त गर्ने पुरस्कारसम्बन्धि ठोस कानून नै बनेको र यसले गर्दा खेलाडीले समयमा पुरस्कार प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । खेलकुद विकास नियमावली पास भएपछि अहिले धेरै खेलाडी समयमा नै पुरस्कार पाउन थालेको सदस्यसचिव घिसिङले बताउनु भयो ।  


नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले सातै वटै प्रदेशमा प्रादेशिक कभर्डहल र केन्द्रमा पाँच हजार दर्शक क्षमताको कभर्डहल निर्माणका लागि संघले पहल गरिरहेको बताउनु भयो ।  सोहीअनुरूपमा राखेपले पनि भलिबलको कभर्डहल निर्माणका लागि तीन सदस्यीय समिति पनि गठन भैसकेको संघका महासचिव श्रेष्टले बताउनु भयो ।  


नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राखेप, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिँदै यो सम्मानले आगामी दिन अभैm राम्रो गर्ने जिम्मेवारी प्राप्त भएको बताउनु भयो । उहाँले देशको नाम अन्तर्राष्ट्रियस्तर चिनाउन आफ्नो टोलीले थप मेहनत गर्ने समेत उल्लेख गर्नुभयो । 


बिहीवार सरकाले गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता खेलाडीसहित १४ सदस्यीय टोलीलाई सम्मान गरेको थियो । टोलीका हरेक खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीश भट्टलाई दुई लाख र सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई एक लाख नगद पुरस्कार प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here