कुलमानलाई उर्जामन्त्रीको जवाफः उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो


१ भाद्र २०८१, शनिबार १५:५६ मा प्रकाशित

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता नतिर्ने उद्योगहरुमा विद्युत काट्नु नहुने बताउनुभएको छ । शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम नतिर्ने उद्योगहरुको विद्युत काट्नु नहुने बताउनुभएको हो ।

उहाँले सरकारले उद्योगीहरुले विद्युत उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्नेकुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनु भयो । उहाँले वक्यौता रकम नतिर्ने उद्योगहरुलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत काट्नु नहुने बताउनु भयो ।

उहाँले उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिनुभयो ।

उद्योगसँग आश्रित परिवार, उत्पादन र राजश्वको कुरापनि भएकाले पैसा नतिरेको खण्डमा कानूनको प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले उद्योगले पैसा तिर्नु पर्दैन भनेर कहिल्यै नभनेको भन्दै दुष्प्रचार गरिएको बताउनु भयो ।मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरुप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताउनु भयो । उहाँले विद्युतको बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले विद्युतको उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरुलाई सहुलियत दिनुपर्ने बताउनु भयो । उहाँले देशका सबै ठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने भन्दै नीतिगत रुपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागि गराउनुपर्ने बताउनु भयो । 


कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताउनु भयो । उहाँले विद्युत प्रशारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कसको कमजोरी हो ? भनि प्रश्न गर्नुभयो ।

उहाँले विद्युतका खम्बाहरुपनि अव्यवस्थित रुपमा गाडिएको बताउनु भयो । विद्युतको तार र खम्बाहरु अव्यवस्थित रुपमा राखिएको पाए सम्बन्धित शाखाका कर्मचारीहरुलाई विभागिय कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले विद्युत प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि प्राधिकरणलाई आग्रह गर्नुभयो ।  राज्यमन्त्री तामाङले विद्युतको वक्यौता रकम नतिर्नेहरुसँग साँठगाँठ गरेर विद्युत नजोड्न कर्मचारीलाई सचेत गराउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here