भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो : प्रचण्ड


१ भाद्र २०८१, शनिबार १४:५९ मा प्रकाशित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठकको समापनपछि पार्टी थप एकताबद्ध भएको बताएका छन्।

पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले पार्टीभित्रका शंका, उपशंका, विवाद र मतभेदलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने भन्ने विषयमा छलफल भएको बताउनुभयाे ।

‘स्थायी कमिटी बैठकसम्म आइपुग्दा उपमहासचिव जनार्दन शर्माले राख्नुभएको मतलाई लिएर पार्टी विभाजन हुन्छ भनेर सुनाउने गरेका थिए,’ प्रचण्डले भने, ‘पार्टी बैठकको अन्त्यसम्म आइपुग्दा पार्टी विभाजन गर्ने नेता शर्माको कुनै उद्देश्य र नियत छैन, यससम्बन्धमा स्वयम् उहाँले नै स्पष्ट पार्नुभएको छ, कसैलाई पार्टी विभाजन हुन्छ भन्ने आशंका छ भने त्यसबाट मुक्त हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गर्दछु।’

स्थायी कमिटीको बैठकमा छलफलका क्रममा नेता शर्माले अरूले मौखिक धारणा राखेजस्तै आफूले लिखित रूपमा धारणा राखेका तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘शर्माले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ। उहाँले फरक मत भन्नुभएको छैन। उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ।’

पार्टी एकताबद्ध भएर अगाडि बढ्ने जनाउँदै उनले भने, ‘पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी कमिटी बैठकमा आउँदा त्यो क्लियर भएको छ। त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार हो क्लियर भए हुन्छ।’

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरे। ‘पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ। भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ। भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,’ उनले भने।

प्रचण्डले साधारण किसान परिवारमा हुर्केर ठूलो राजनीतिक उचाइ हासिल गरेका बोगटीको व्यक्तित्व र चरित्रले सिङ्गो समाजलाई नै प्रभावित पार्न सक्ने अवस्था रहेको स्मरण गरे।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई साङ्गठनिक रुपमा एकताबद्ध तथा वैचारिकरुपमा क्रान्तिकारी बनाउन सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले पार्टीलाई थप बलियो बनाएर लैजानेमा सिङ्गो स्थायी कमिटी एकमत भएको उल्लेख गर्दै पार्टी नेतृत्वलाई बलियो बनाएर लैजाने सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयाे ।

उनले पार्टीभित्रका वैचारिक असमझदारी र अन्तरसङ्घर्षलाई सही ढङ्गले विश्लेषण गरेर पार्टीलाई झन् एकताबद्ध बनाउन बोगटीले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् ।

प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले दिवंगत नेता बोगटीको योगदानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठान क्रियाशील रहेको उल्लेख गरे। प्रतिष्ठानले आगामी दिनमा वैचारिक विषयलाई कार्यकर्ता र जनताका बीचमा लैजाने उनले जानकारी दिनुभयाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here