अमेरिकी षड्यन्त्रमा शेख हसिना र मलाई सत्ताच्यूत गरियो–प्रचण्ड


२७ श्रावण २०८१, आईतवार १२:४६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण सुनाएका छन् ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिवार बोल्दै अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । प्रचण्डले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेश गरेका थिए ।

दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होसियारीपूर्वक चाल्नुपर्ने बताएको स्थायी कमिटी सदस्यले बताए । अब सबैखाले षड्यन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि माओवादीले वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकतासमेत गर्ने बताएका छन् ।

बैठकमा प्रचण्डले माधव नेपाल नेतृत्वका नेकपा एस, विप्लव नेतृत्वको नेकपा, महिन्द्रराय यादव नेतृत्वका नेतालगायतका दलहरूसँग एकताको पहल भइरहेको बताएका छन् । प्रचण्डले कांग्रेस र एमालेको सहकार्य देशभित्रको मात्र परिस्थितिले नभएको भन्दै आउने चुनाव एक्लै लड्ने गरी तयारीमा रहनुपर्ने समेत बताएका छन् ।

माओवादी स्थायी कमिटी बैठक आइतवार पनि जारी छ । बैठकमा उपमहासचिव जनार्दन शर्माले फरक सांगठानिक प्रस्ताव समेत पेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here