सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछः सभापति थापा


२५ श्रावण २०८१, शुक्रबार १७:४६ मा प्रकाशित

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिनुभएको हो ।

उहाँले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताउनु भयो । उहाँले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताउनु भयो। उहाँले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको बताउनु भयो ।

उहाँले सरकारबाट केही जानकारी नआएको बताउनु भयो । उहाँले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताउनु भयो । उहाँले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको बताउनु भयो । उहाँले कारागारमा करिव ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताउनु भयो ।

उहाँले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताउनु भयो । उहाँले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताउनु भयो । उहाँले गोर्खा मिडिया प्रा.लि.का तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here