सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरीहरु लाभान्वित छन्ः वनमन्त्री ठकुरी


२५ श्रावण २०८१, शुक्रबार १३:०३ मा प्रकाशित

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताउनुभएको छ । शुक्रवार ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला कार्यक्रम शुरु भएको बताउनु भयो । उहाँले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताउनु भयो ।

उहाँले नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरु, सफलताहरु विश्वमा नै उदाहरणीय रहेको जिकिर गर्नुभयो । उहाँले सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उल्लेख गर्नुभयो । कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास, तथा लैंगिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको बताउनु भयो । 

वनमन्त्री ठकुरीले सामुदायिक वनको व्यवस्थापनबाट स्थानीय समदुायको वन पैदावरको व्यवस्थापन र आवश्यकता पूरा गरी जीविकोपार्जन सुधारका साथै उत्पादनमुखी वन व्यवस्थापन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने र राष्ट्रिय समृद्धिमा योगदान पु¥याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here