५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका थिए । तर, तोकिएको समयभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।
यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनी दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीसमेत हुन् ।