सिमलताल घटना : गृह मन्त्रालयद्वारा गठित कार्यदलले काम थाल्यो


२ श्रावण २०८१, बुधबार ११:३५ मा प्रकाशित

काठमाडौं । चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएको घटनाको अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।

गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । १०  दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ । 

रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन् ।

आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ ।

गत असार २८ गते भएको दुर्घटनामा बसमा सवार ६५ मध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here