युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्डबीच भिडन्त हुने


२८ असार २०८१, बिहीबार ०९:५० मा प्रकाशित

काठमाडौँ । युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्डबीच भिडन्त हुने भएको छ । फाइनल खेल असार ३० गते आइतवार नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ ।

सेमीफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने इङल्याण्डले नेदरल्याण्डसलाई २–१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

स्पेन र इङ्ल्याण्ड अहिलेसम्म २७ पटक आमने–सामने भएका छन्, जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

इङ्ल्याण्ड तथा नेदरल्याण्ड्सबीच गए राति सम्पन्न सेमीफाइनल खेल रोमाञ्चक रह्यो । १–१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङ्ल्याण्डका ओली वाटकिन्सले गोल गर्दै आफ्नो टीमलाई फाइनलमा पुर्याएका हुन् ।

यसअघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । यो जीतसँगै इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here