चार दशकपछि बिर्तामोड-शनिश्चरे सडकको स्तरोन्नति, कालोपत्रे हुँदै


११ असार २०८१, सोमबार ०९:५९ मा प्रकाशित

झापा । सडक बनेको करिब चार दशकपछि झापाको बिर्तामोड-शनिश्चरे सडकको स्तरोन्नतिसँगै कालोपत्रे सुरु भएको छ। सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका छन्।

आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको हो। ठेकेदार संस्थाले मंगलवारसम्ममा डेढ किलोमिटरको त्यस खण्ड पूरा गर्ने आश्वासन दिएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए।

नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भए पनि स्थानीयको गुनासो सम्बोधन भएकोमा उनले आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए।

सडक निर्माण गर्नका लागि प्रविण मैनाचुली शान्ति जेभीले ठेक्का पाएको थियो। समयमा रकम निकासा नहुँदा निर्माण कार्य समयमै गर्न नसकिएको ठेकेदार संस्थाले जनाएको छ।

तर, सभामुख देवराज घिमिरेको पहलमा आंशिक रकम निकासा भएपछि पहिलो चरणमा १.५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न गर्न लागिएको हो।

गत जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले समयमा भुक्तानी नगरेको बताइएको छ।

१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६.२ किलोमिटरको हुने छ।

बिर्तामोडदेखि दासपुलसम्म दुई लेन, दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ।

यसअघि सडकमा सवारीसाधन चलाउन नसक्ने गरी खाल्डा खुल्डी भएका कारण सवारीसाधनहरु दुर्घटनामा परेका थिए।

स्थानीयबासीले सडक निर्माण गर्न दवाब दिने उद्धेश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए।

सडक अवरुद्ध भएपछि सवारीसाधनले लामो समयदेखि बैकल्पिक सडक प्रयोग गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here