काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताउनुभएको छ ।
मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्नु आवश्यक नभएको बताउनुभएको हो ।
उहाँले विधेयकमा ट्रेड युनियन सम्बन्धी व्यवस्था नगरिएको भन्दै फेरि सो विषयलाई उल्लेख गर्नु आवश्यक नभएको बताउनु भयो । उहाँले कर्मचारीको विषयमा छलफल गर्न सकिने भएपनि कर्मचारीको काम, कर्तव्य र अधिकारमा ट्रेड युनियनको अधिकार दिनु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो विधेयकमा कहीँ पनि ट्रेड युनियन सम्बन्धी व्यवस्था छैन । व्यवस्था नभएको कुरालाई किन उप्काउने भन्ने हो । कर्मचारी युनियन बन्नुपर्छ भन्ने कुरा कतैकतै आएको भए गम्भिरतापूर्वक सोच्नुपथ्र्यो । अघि माननीयज्युहरुले भनेजस्तै हामीले दुरुपयोग गरेर समस्या भएको हो । सदुपयोग गरेको भए केही समस्या हुँदैन थियो । कर्मचारीको विषयमा कहीँ त्यस्तो लेखेको रहेछ भने कर्मचारीसम्बन्धी दफालाई हेरौँला । भएन भने काम, कर्तव्य, अधिकारमा त्यो उल्लेख नगरौँ भन्ने आग्रह गर्न चाहन्छु ।’