संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने प्रधानमन्त्री दाहालको दाबी


७ माघ २०८०, आईतवार १२:०७ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताउनुभएको छ ।

आईतवार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ । अब फुल हाउसमा लैजाने तयारी छ । सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ । टुंग्याउने कुरा सहमतिबाट टुंग्याउन मेरो पूरै कोशिस छ । राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु । मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुंगिन्छ । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले एक वर्षे उपलब्धी सार्वजनिक गर्दाको सम्बोधनअनुसार नै काम अघि बढाइरहेको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here