सरकारले पछिल्लो एक वर्षमा मुलुकको आर्थिक अवस्था सकारात्मक दिशातिर अग्रसर भइरहेको दाबी गरिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र गठबन्धनका शिर्षस्थ नेताहरुले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढीरहेकाले आत्मविश्वास बढाएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै आउनुभएको छ ।
तर उद्योगीहरु व्यवसायीहरु भने सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको बताउँदै आएका छन् ।
उनीहरुले सरकार गठन भएको वर्ष दिन पुग्दा पनि निजी क्षेत्रको आत्मविश्वास बढाउन नसकेको आरोप लगाउँदै आएका छन् ।
यता अर्थमन्त्री डा. महत भने अर्थतन्त्र सकारात्मक दिशामा अघि बढीरहेको र असहज स्थितिमा रहेको अर्थतन्त्रलाई लयमा ल्याएको दाबी गर्नुहुन्छ ।
उहाँले युवाहरु विदेश जाने क्रम पनि बिस्तारै कम हुँदै गएको र मुलुकभित्रै सम्भवना छ भन्ने आवाज प्रवाह भइरहेको हुनाले अर्थतन्त्र वृद्धि सहितको सकारात्मक बाटोमा गएको दाबी गर्नुभयो ।
उहाँले वित्त व्यवस्थापन र मौद्रिक नीति सहजताको माध्यमबाट अर्थतन्त्र चलायमान हुँदै गएको जिकिर गर्नुभयो ।