धनकुटा । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली भोलि धनकुटा आइपुग्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा आइपुग्न लागेको हो ।
नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ ।
संकल्प यात्राको टोलीलाई भोलि बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।
१८ दिनसम्म सञ्चालन हुने संकल्प यात्राको अगुवाइ एमाले अध्यक्ष ओलीले गरिरहेका छन् । यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित पाँच सय नेता कार्यकर्ता सहभागि छन् ।