काठमाडौं । संसदका दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै शिक्षकहरुले काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् ।
‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा बुधबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरिएको हो । सरकारले आह्वान गरेको वार्ता समेत अस्वीकार गर्दै महासंघले बिद्यलयमा पठनपाठन बन्द गर्नेसहितको आन्दोलन गरेको हो ।
विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।
त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाइ छ । शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिँदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवालगायतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केही भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।
शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता टोली गठन वार्ता आह्वान गरेको छ । तर महासंघले भने आफूहरुको सवाल शिक्षा मन्त्रालयसंग मात्रै नभएको भन्दै वार्तामा बस्न मानेको छैन ।






