भ्युज बढाउने नाममा सरकारी कार्यालयको सीसी टिभी फुटेज सोसल मिडियामा सार्वजनिक गर्न मिल्छ ? के भन्छन् कानूनका ज्ञाता ?


२४ भाद्र २०८०, आईतवार १३:०९ मा प्रकाशित

झापा । सरकारी निकायमा गोप्य रहनुपर्ने सीसी टिभी क्यामेराको फुटेज दुरुपयोग गर्दै यतिबेला सञ्चार माध्यमहरु भ्युज बढाउने होडवाजीमा लागेका छन् ।

सरकारी निकायमा सीसी टिभी क्यामेराबाट कैद गरिएका फुटेजहरु गोप्य राख्नु पर्ने कानुनी ब्यवस्था रहेको छ । सीसी टिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधी २०७५ (संसोधनसहित) अनुसार अनुसन्धानका लागि जडान गरिने सीसी टिभीको फुटेज कानुनी प्रयोजनका लागि मात्र प्रयोग गर्न मिल्ने ब्यवस्था रहेको छ ।

तर पछिल्लो समय सरकारी निकायमा कैद गरिएका सीसी टिभी फुटेजहरु सार्वजनिक गर्दै ब्यक्तिको चरित्र हत्या गर्ने सामग्री सामाजिक सञ्जाल साथै विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन/प्रसारण भइरहेका छन् ।

सरकारी निकायमा कैद गरिएका सीसी टिभी फुटेजहरु त्यहाँ कार्यरत कर्मचारीहरुवाट सार्वजनिक भएमा निजलाई कारबाही हुने ब्यवस्था समेत कानुनले गरेको छ । तर कानुनको धज्जी उडाउँदै सार्वजनिक गरिएका सीसी टिभी फुटेजहरु यतिवेला सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हो इलामको माईजोगमाई गाउँपालिका ।

दुईजना कर्मचारीबीचको अनैतिक गतिबिधिलाई लिएर सीसी टिभी क्यामेरा फुटेज लिक गरि तोडमोड गर्दै निर्माण गरिएको भिडियोका कारण सरकारी निकायप्रतिको विश्वास गुम्दै गएको प्रष्ट हुन्छ । न त कसैको उजुरी नै छ न त अनुसन्धान गर्ने निकायले माग गरेको छ ।

यस भिडियोबाट गाउँपालिका अध्यक्ष तथा सीसी टिभी क्यामेरा अपरेटरले राज्यप्रतिको गोपनीयता पूर्ण रुपमा भङ्ग गरेको प्रष्ट देख्न सकिन्छ । सरकारी निकायमा कार्यरत कर्मचारीबाट गल्ती भए त्यसको नियमन गर्ने निकायबाट कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाउने मार्ग प्रशस्त हुँदाहुँदै सीसी टिभी फुटेज सामाजिक सञ्जालमा राखेर भाइरल बनाउँदै रमिता देखाउन गाउँपालिका अध्यक्ष र कर्मचारीले गरेको प्रयास सफल भए पनि यसको असर दिर्घकालसम्म रहने देखिन्छ ।

जस्ले गाउँपालिका अध्यक्षको कार्यशैली अपरिपक्व रहेको प्रष्ट हुन्छ । सीसी टिभी फुटेज सार्वजनिक सम्बन्धी नेपालको संविधानले गरेको ब्यवस्था अनुसार सार्वजनिक स्थानबाट कैद भएका तस्वीर साथै भिडियो सार्वजनिक प्रकृतिका भएमा सार्वजनिक गरेमा कानुनी अपराध नहुने अधिवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तर, कसैको निजी जीवनसँग सम्बन्धित तस्वीर भएको खण्डमा सम्बन्धित ब्यक्तिको स्वीकृती तथा मन्जुरी अनिवार्य हुने ब्यवस्था पनि कानुनले गरेको हुँदा सम्वन्धित ब्यक्तिको मन्जुरीविनै सीसी टिभी क्यामेरा फुटेज सार्वजनिक गरेमा कानुनी अपराध गरेको मानिने पनि बताउनुभयो । यसरीविना मन्जुरी उक्त सीसी टिभी क्यामेराको फोटो तथा भिडियो सार्वजनिक हुँदा ब्यक्तिगत गोपनीयतासँग सम्वन्धित अपराध गरेको ठहर्ने पनि पौडेलले जानकारी दिनुभयो ।

सीसी टिभी क्यामेराको फुटेज प्रयोगको कार्यविधीलाई अनिवार्य अवलम्बन गर्नुपर्ने कानुनी ब्यवस्था रहेको छ । सीसी टिभी क्यामेरामा कैद भएका तस्वीर तथा भिडियोहरु कुन-कुन सावैजनिक गर्न हुने, कुन-कुन नमिल्ने सम्बन्धित कार्यालयका प्रमुख साथै सीसी टिभी नियामक निकायले ख्याल गर्नुपर्नेसमेत अधिबक्ता पौडेलले बताउनुभयो । यसो नगरेको खण्डमा नेपालको प्रचलित कानुन बमोजिम अपराध गरेको ठहर्ने समेत उहाँले प्रष्ट पार्नुभयो ।

ब्यक्तिको गोपनियताको हक संरक्षण हुने र मानव अधिकारमा प्रतिकूल असर नपर्ने ब्यवस्थाको सुनिश्चितता हुनेगरी सीसी टिभी जडान तथा सञ्चालन गर्नुपर्ने कानुनी ब्यवस्थाको उल्लंघन गर्दै माईजोगमाई गाउँपालिकामा जडान गरिएकोबाट सीसी टिभी फुटेज सार्वजनिक भएको छ । माईजोगमाई गाउँपालिकामा हालसम्म पनि आइटी अफिसर नियुक्त गरिएको छैन । सीसी टिभी अपरेटरको भूमिकामा गाउँपालिका अध्यक्ष आफैँ अघि सर्दै आफ्नै कार्यकक्षमा कन्ट्रोलरुम राखिएको छ ।

प्रायः स्थानीय पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सीसी टिभी क्यामेराको कन्ट्रोल हुने गरेको पाइन्छ । तर माईजोगमाई गाउँपालिकामा प्रमुखले नै यसको कन्ट्रोल राखेर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनुले जनप्रतिनिधिको मर्यादामासमेत प्रश्न चिह्न खडा भएको छ ।

जनप्रतिनिधि र प्राविधिकको मिलेमतोमा सार्वजनिक गरिएको सीसी टिभी फुटेज ब्यक्तिगत रिसइवीका कारण सार्वजनिक गरिएको आशंका गरिएको छ । जुन कुरा कानूनले बर्जित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here