राज्य आतंकको ‘पर्याय’ बन्नु हुँदैनः भीष्मराज आङ्देम्बे


१९ बैशाख २०८३, शनिबार १४:३५ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मच्चाइरहेको आरोप लगाउनुभएको छ । 


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको ‘डोजर आतंक’का कारण मानिसको ज्यान समेत गएको बताउनुभएको हो । उहाँले राज्य आतंकको पर्याय बन्न नहुनेमा जोड दिँदै अभिभावक जस्तो हुनुपर्ने बताउनु भयो ।

उहाँले विद्यालयमा डोजर लगाउँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी भविष्यबिहीन अवस्थामा पुगेको उल्लेख गर्नुभयो । सरकारलाई मानवीय संवेदनशीलता अपनाउन उहाँले आग्रह समेत गर्नुभयो । उहाँले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले राज्य सञ्चालनको शैली लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना हुने र त्यसले विद्रोह उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँले मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफूहरुको कुनै असहमति नरहेको स्पष्ट पार्नुभयो ।

खोला–नाला, राजधानी तथा देशका विभिन्न भूगोललाई व्यवस्थित र आकर्षक बनाउने कार्यमा सबैको साझा चाहना रहेको उहाँको भनाई छ । तर व्यवस्थित गर्ने नाममा विधि र प्रक्रिया मिच्न नहुनेमा उहाँले जोड दिनुभयो । लोकतान्त्रिक मूल्य र मान्यताभित्र रहेर काम गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

उहाँले सरकार संख्याको बलमा विधि र प्रक्रियालाई मिचेर अगाडी बढिरहेको आरोप लगाउनु भयो । प्रतिपक्षी दलहरुले देखाएको सदाशयतालाई कमजोरीको रुपमा नलिन पनि उहाँले सरकारलाई चेतावनी दिनुभयो ।

उहाले हाल सरकार जनताको अभिमतलाई विश्वास नगरेर संसदलाई वन्धक बनाएर अध्यादेशबाट चलिरहेको आरोप लगाउनु भयो । उहाँले चोर बाटोबाट देश चलाएर दिगो. विकास र शान्ति नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत अन्य समस्याका बारेमा छलफल गर्ने संसदलाई वन्धक बनाएर राख्न नहुनेमा जोड दिनुभयो ।  

उहाँले सम्पती शुद्धिकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको उल्लेख गर्दै सबैको सम्पती छानविन गर्न आवश्यक रहेको बताउनु भयो । हालै सरकारमा गएकाहरुको पनि अस्वभाविक सम्पती देखिएको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here