सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गर्नुभएको छ ।
गृह मन्त्रालयमा सोमवार आयोजित एक विशेष समारोहका बीच गृहसचिव राजकुमार श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न सुशोभन गर्नुभएको हो । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई पदोन्नति गरी सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
तत्कालीन महानिरीक्षक राजु अर्यालले गत १८ वैशाखदेखि अनिवार्य अवकाश प्राप्त गरेपछि रिक्त रहेको उक्त पदमा पौडेललाई बढुवा गरिएको हो । दज्र्यानी चिह्न ग्रहणसँगै महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको नेतृत्व र कार्यभार औपचारिक रूपमा सम्हाल्नुभएको छ । समारोहमा गृह मन्त्रालय तथा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।






