नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेता दामन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताउनुभएको हो ।
उहाँले नेपाली काँग्रेसको लेगेसी दमन पाख्रेल, दुर्गानन्द झा, रामनारायण मिश्र जस्ता योद्धा र विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा अडिएको उल्लेख गर्दै यसको जगेर्ना गर्ने मुख्य जिम्मेवारी पार्टीकै भएको स्पष्ट पार्नुभयो ।
पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिनुभयो । पार्टी सञ्चालनका लागि कसैले पनि नेता वा पार्टीको खातामा अवैध रकम जम्मा गर्नु नपर्ने र लेभी प्रणालीबाटै पार्टी चल्नुपर्नेमा उहाँको जोड थियो ।
सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिनुभयो । सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिलाई बोलाएर अर्थतन्त्रको वर्तमान सङ्कट र प्रदेशका प्राथमिकताहरूका बारेमा पार्टीले ठोस संवाद गर्ने उहाँको भनाइ थियो ।
पार्टीभित्र वृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताउनु भयो । विभिन्न नेताहरूको नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित बनाउन पार्टीले नै विशेष पहल गर्ने सभापति थापाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।






