काठमाडौं । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् ।
प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् ।
आज भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
उनको हात भाचिनुका साथै शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । बन्दीतर्फ चार जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई गोली लागेको छ । गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । बाल सुधार गृहमा रहेका ४३ जना केटी र दुई सय ५६ जना केटा गरी दुई सय ९९ बालबन्दी रहेको सुधार गृहको गेट तोडफोड गरेर दुई सय २१ जना फरार भएका थिए । भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट गरी हाल एक सय ९४ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । थप २७ जना टेलिफोन सम्पर्कमा आइसकेको उहाँले जानकारी दनुभयो ।
सम्पर्कमा आएका पनि रातभरिसम्ममा नियन्त्रणमा आउने दाबी गरे । बाल सुधार गृहभित्र प्रशासनले विभेद गरेको भन्दै बन्दीले नाराबाजी गर्दै घरेलु हतियार लिएर बाहिर निस्के पनि सुधार गृहभित्र रहेका ४३ जना बालिका बन्दी र केही पुरूष बन्दी भने बाल सुधार गृहभित्रै बसेका उनले जानकारी दिए । बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कदै घरेलु हतियार र ढुङ्गा प्रहार गरी प्रहरीमाथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले तीन राउण्ड गोली चलाउनुपरेको उनले जानकारी दिए ।
लागेर दुई बन्दी घाइते भएका छन् । गेट तोडफोड गरेर बाहिर निस्केको बालबन्दीले सुधार गृहलगायत नजिकैको यूसेप कार्यालयमासमेत तोडफोड गरेका छन् । तोडफोडबाट कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको युसेपका कार्यकारी निर्देशक केशव सुवालले जानकारी दिए ।






