कोशी सरकारविरुद्ध परेको रिटको पेशी न्यायाधीशद्वय रेग्मी र सुवेदीको संयुक्त इजलासमा


७ श्रावण २०८०, आईतवार १२:४९ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वोच्चमा निरन्तर सुनुवाइ हुँदैछ ।

कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको छ । एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए ।

असार २७ गते रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले साउन ३ गतेभित्र महान्यायाधिवक्ता/मुख्य महान्यायाधिवक्ताको कार्यालय प्रदेशमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो । सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारका नाममा आदेश दिएको थियो ।

पूर्वमुख्यमन्त्री कार्कीका तर्फबाट दायर रिटउपर सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा र सभामुख बाबुराम गौतमलाई सरकार गठनका बेला भएको दाबी र समर्थनको सक्कल कागजातसहित लिखित जवाफ पठाउन आदेश दिएको थियो ।

आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सक्कल कागजातसहित लिखित जवाफ पठाइसकेका छन् । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here