कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे


६ श्रावण २०८०, शनिबार ०९:१० मा प्रकाशित

झापा । महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभैंसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ ।

लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका फोकल पर्सन डा. देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ ।

प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ । झापामा पाँच सय चार, पाँचथरमा चार सय २२, मोरङमा चार सय ८८, उदयपुरमा तीन सय ८५, सुनसरीमा तीन सय ६२, खोटाङमा दुई सय ७९, धनकुटामा दुई सय ७७, सङ्खुवासभामा दुई सय ८५, ओखलढुङ्गामा दुई सय दुई, तेह्रथुममा एक सय ४४, ताप्लेजुङमा एक सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here