काठमाडौं । शीर्ष दलहरुबीच संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
सभामुख देवराज घिमिरेले बोलाउनुभएको शीर्ष नेताहरुको छलफलका क्रममा छिटो भन्दा छिटो संसदीय समितिको नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउने सहमति भएको हो । छलफलमा सभामुख घिमिरेले संसदीय समितिहरु लामो समय ज्येष्ठ सदस्यको नेतृत्वमा सञ्चालन गर्न नहुने भएकाले नेतृत्व चयन प्रक्रियामा गम्भीर हुन आग्रह गर्नुभएको थियो ।
उहाँले दलहरुले पहल नगर्ने भए आफूले नै नेतृत्व चयनका लागि मिति तोक्ने समेत बताउनुभएको थियो । जवाफमा दलहरुले प्रमुख सचेतकहरुसंग छलफल गरेर नेतृत्व चयन प्रक्रिया अघि बढाउने बताएका थिए ।
छलफलपछि सभामुख देवराज घिमिरेले संसदीय समितिलाई प्रभावकारी बनाउनका लागि दलहरुबाट आवश्यक सुझाव लिएको बताउनुभयो । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न नसकेको अवस्थामा छिट्टै नै समितिले नेतृत्व पाउने गरि छलफल भएको उहाँले बताउनुभयो ।
त्यस्तै कानूनमन्त्री धनराज गुरुङले सवै दलका सचेतकहरुसंग छलफल गरेर चाडै संसदीय समितिको नेतृत्व चयनका लागि अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले समिति सभापतिका बिषयमा शीर्ष दलहरुबीच भएको यसअघिको सहमति अनुसार नै अघि बढ्न तयार रहेको बताउनुभयो ।