झापा । झापाको बिर्तामोडमा चलचित्र, पर्यटन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले चलचित्र क्षेत्रले पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
चलचित्र पत्रकार संघ नेपाल द्वारा शुक्रबार बिर्तामोडमा आयोजित ‘चलचित्र, पर्यटन र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चलचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने धारणा राख्नुभयो ।
सिक्किममा संस्कृति मन्त्रालयद्वारा आयोजित फिल्म फेस्टिबलमा सहभागी हुँदाको अनुभव सुनाउँदै उहाँले १९ देशको सहभागिता रहेको उक्त कार्यक्रममा प्रेमसिंह तामाङ ले चलचित्र क्षेत्रमार्फत पर्यटन विकासका लागि निरन्तर सक्रियता देखाएको उल्लेख गर्नुभयो ।
“चलचित्र पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम हो,” उहाँले भन्नुभयो, “हामीले पनि सिक्किमले जस्तै चलचित्रलाई पर्यटनसँग जोडेर अगाडि बढ्न आवश्यक छ ।”
उहाँले नेपाली चलचित्रलाई विदेशी भाषामा अनुवाद गर्ने वा सबटाइटल राखेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सके नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रलाई समृद्ध बनाउने मुख्य आधारमध्ये पर्यटन पनि एक भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न तथा पर्यटन नीतिमा सुधार ल्याउन सरकारस्तरमा गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खतिवडाले कृषि आधुनिकीकरण, पर्यटन विकास, जलस्रोतको अधिकतम उपयोग तथा डिजिटल क्षेत्रको विकासलाई मुलुक समृद्धिको प्रमुख आधारका रूपमा चित्रण गर्नुभयो ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी संघ का अध्यक्ष केवल तामाङ ले चलचित्र क्षेत्रलाई सरकारले अपेक्षित प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । चलचित्र विकास बोर्डमा समेत पर्याप्त सरकारी लगानी नभएको उल्लेख गर्दै उहाँले चलचित्र विकास शुल्ककै भरमा बोर्ड सञ्चालन हुनुपरेको अवस्था रहेको बताउनुभयो ।
चलचित्र विकास बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति सदस्यसमेत रहनुभएका तामाङले भारतको सिक्किम, बंगाल, आसाम, मेघालय तथा भुटानजस्ता क्षेत्रमा नेपाली चलचित्रको बजार विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यस्तै मिजास पोखरेल ले नेपालको फिल्म उद्योगले वार्षिक दुई सय करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने तथ्य प्रस्तुत गर्दै झण्डै ५३ प्रतिशत व्यापार नेपाली चलचित्रले धानिरहेको बताउनुभयो ।
“दर्शकले नेपाली सिनेमाको कथा रुचाइरहेका छन् भन्ने कुरा यसले पुष्टि गर्छ,” उहाँले भन्नुभयो, “अब नेपाली सिनेमाको कथालाई ग्लोबल टुरिजमसँग जोड्न सक्नुपर्छ ।”
नेपालमा भारतीय पर्यटकको आगमन बढी हुने तथ्य प्रस्तुत गर्दै उहाँले भारतीय बजारमा नेपाली चलचित्र पुर्याउने रणनीतिमा जोड दिनुभयो ।
युवराज गिरी ले चलचित्र निर्माणले रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
“एउटा चलचित्र निर्माणका क्रममा ५० देखि ६० जनासम्मको टोली विभिन्न स्थानमा पुगेर काम गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “वर्षमा ४० देखि ५० वटा चलचित्र बन्ने भएकाले यसले पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।”
उहाँले चलचित्र, पर्यटन र पत्रकारिता एकअर्काका परिपूरक क्षेत्र भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेत ले चलचित्र पत्रकारिताले चलचित्रसँगै कला, साहित्य, भाषा र पर्यटन क्षेत्रलाई समेत समेटेर काम गरिरहेको बताउनुभयो ।
संघका कोशी प्रदेश अध्यक्ष वीरेन्द्रकुमार साह ले कोशी प्रदेशमा चलचित्र निर्माणका गतिविधि विस्तार हुँदै गएको उल्लेख गर्दै सरकारले चलचित्र क्षेत्रलाई पर्यटनसँग जोड्ने विशेष नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघको कोशी प्रदेश समिति सदस्यमा मनोनित सुनिरा मैनाली र शिव भट्टराई लाई प्रमाणपत्र वितरण गरिएको थियो । अतिथिहरुलाई मायाको चिनोस्वरूप ‘चलचित्र पत्रकार’ पुस्तक तथा पत्रकार तीर्थ सिग्देल द्वारा लिखित ‘त्यो झापा’ पुस्तक प्रदान गरिएको थियो ।
संघका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ का उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल फिल्म सोसाइटी का अध्यक्ष देवीभक्त श्रेष्ठ, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे लगायतले धारणा राख्नुभएको थियो ।
संघका झापा अध्यक्ष एकराज प्रधान ले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कोशी प्रदेश सचिव तुलसीप्रसाद निरौला ले गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष प्रदीप परियार, नयाँ पेपरका अध्यक्ष निर्मलराज खत्री तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स का वरिष्ठ उपाध्यक्ष शेखर ढकाल लगायतको सहभागिता रहेको थियो ।






