ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड


२६ बैशाख २०८३, शनिबार ११:२१ मा प्रकाशित


राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । 


मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले अधिकारीलाई दक्षिण एशियाकै प्रथम निर्वाचित वामपन्थी प्रधानमन्त्री तथा सरल र सादगी नेताका रूपमा चित्रण गर्नुभयो ।

राष्ट्रपति पौडेलले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक ज्येष्ठ नागरिकका लागि मासिक वृद्ध भत्ताको शुरुवात गरेको ऐतिहासिक तथ्यको स्मरण गर्नुभयो । तत्कालीन समयमा १०० रुपैयाँबाट शुरु भएको भत्ता हाल ४ हजार पुगेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा सो कदम कोशेढुङ्गा सावित भएको बताउनु भयो ।

ज्येष्ठ नागरिकलाई समाजको एक विशिष्ट वर्गका रूपमा परिभाषित गर्दै राष्ट्रपतिले उनीहरूको स्वास्थ्य उपचार, उचित खानपान र स–सम्मान बाँच्न पाउने हकको सुनिश्चितता हुनुपर्ने बताउनु भयो । पछिल्लो समय बढ्दो सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी र पारिवारिक असमझदारीका कारण ज्येष्ठ नागरिकहरूले अपहेलित हुनुपरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।  

नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको सन्दर्भमा यस अन्तर्राष्ट्रिय सम्मेलनले अन्य मुलुकका सफल अभ्यासहरूबाट सिक्ने अवसर प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले अन्तर–पुस्ता ज्ञान हस्तान्तरण र ज्येष्ठ नागरिकको प्रभावकारी व्यवस्थापनका लागि एक सेतुको काम गर्ने भन्दै राष्ट्रपतिले कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here