कोशी प्रदेश पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत पक्षको थप आन्दोलनका कार्यक्रम सार्वजनिक


२५ बैशाख २०८०, सोमबार १७:१६ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेश पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्ने लगाएतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताबिरुद्ध उनीहरु सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रम नगर्न हल नदिन आग्रह गर्ने जनाएको छ ।

त्यस्तै आन्दोलनलाई शसक्त बनाउनका लागि बैंशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्ने किरात राई यायोक्साका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिनुभयो ।

त्यस्तै, वैशाख २८ गतेदेखि आमसभा, सङ्घर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने उहाले बताउनुभयो ।

त्यस्तै जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तिब्रता दिने, जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने राईले बताउनुभयो ।

समितिले आफुहरुको आन्दोलन कुनैपनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रष्ट पारेको छ । त्यस्तै समितिले जनताले सडक संघर्ष गरिरहदा समस्या समाधानको साटो आन्दोलनलाई थप उत्तेजित पार्न र बिभिन्न आरोप लगाएर संघर्षलाई भड्काउने काम कोशी नाम पक्षधर दलले गरेको आरोप लगाएको छ ।

नामाङ्करणको विरोधमा संघर्षरत जनतालाई राजावादी भनेर झुठा आरोप लगाउनु निन्दनिय भएको समितिको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here