झापा । सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निणर्य गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निणर्य गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।
साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निणर्य पनि मन्त्रीपरिषद्ले गरेको छ । उनले भनिन्, ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो ।
त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निणर्य भएको छ ।
नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’
प्रवक्ता शर्माले नामकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निणर्य भएको बताउनुभयो ।






