काठमाडौं । जनमत पार्टीले बैंशाख १० गते हुने बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टीले नेकपा (माओवादी केन्द्र) का नेता कुशवाहालाई पार्टीमा प्रवेश गराउदै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उमेदवार बनाउने जनाएको हो । कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गर्नुभएको थियो ।
माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको कुशवाहाले बताउनुभयो । उहाँले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको जिकिर गर्नुभयो ।
जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्वारका लागि बनेको जिकिर गर्नुभयो । बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको भन्दै उहाले आफ्नो पार्टीबाट कुशवाहाले भारी मतका साथ बिजयी हासिल गर्ने उहाँको भनाइ छ ।
सिट खाली भएर संसद्मा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो ।